दाङ : ‘सुख त के हुदा हो । राम जब्दै छिर्ने भित्र छिर्ने हो, राम जब्दै निस्किने हो । भित्रै पसे, कहिले सास फेर्न धौ हुन्छ, कहिले खानीको भत्किन्छ, ज्यान माया मारेर पस्ने हो, ज्यानै माया मारेर निस्किने हो । कतिबेला भत्किन्छ र पुर्छ, त्यो थाहा हुदैन । तै पनि पापी पेटका लागि खानी छोड्न सकिएको छैन । जवानीमै खानी भित्र पसेको हुँ अझै निस्किन पाएको छैन । निस्केर पनि के गर्नु भोको पेट भर्ने उपाय केही छैन, खाए पनि खानी खाला भन्ने लाग्छ । दुख त खानीको सुनाई साध्य छैन ।’ ’ बंगलाचुली गाउँपालिका वडा नं. २ फलिदेका ४३ वर्षिय टोप बहादुर बिकले कोईला खानीमा पाकेको जीवन र जलेका मनका पीडालाई यसरी पोख्नु भयो ।
बिकले २०५३ सालदेखि गाउँकै कोईला खानीमा दिन बिताइरहनु भएको छ । । कमजोर आर्थिक अवस्था बिकको घरपरिवारको जीवन खानीले नै धानेको छ । जसका कारण दुखसुख उनले खानीमा बिताइरहेका छन् । उहाँले भन्नु भयो ‘दुईचार जना साथीभाई तँ खानीमै पुरिए मरिसके, भलाभाग्यले मलाई केहि भएको छैन । हुन पनि नहोस् भगवनासँग यही प्रार्थना छ मेरो ।’ आधा उमेर खानीमैै बिताएका बिक भगवना भरोसामै बाँच्दै आइरहेका छन् । आर्थिक अभावका कारण जोखिम मोल्दै खानीमा पस्नुुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । मजदुरको जीवन रक्षाका लागि खानी मालिकदेखि सरकारसम्मले सुुरक्षित बनाउन नसक्दा अकालमै खानी मजदुरहरुले जीवन गुमाउनु परिरहेको समेत दुखेसो सुनाउनु भयो ।
‘बाहिर आए पचास, भित्र पुरिए जीवन नै सखाप’
‘ कोईला बोरासँग बाहिर निस्किऐ ५० रुपैयाँ पाउछौं, बोरासँगै भित्र पुरिए एक रुपैयाँ हुन्न । दयाको साहु परे बालबच्चा दुईचार पैसा हेर्छन, नभए त्यो पनि छैन । यो सोच्दा मन धेरै जल्छ, कोईला जस्तै मन कालो हुन्छ । तर हाम्रा लागि कसैले केही सोच्दैनन् । न सुरक्षा, न सहजता छ, न हाम्रो जीवन पछि बालबच्चको भविष्य नै छ । धेरैलाई खानीले खायो, हामीलाई कतिबेला खाने हो । हामीलाई खानीले खाए, हाम्राले के खाने हुन भन्ने चिन्ता लाग्छ । ’ बिकले खानीको कोईलामा जलेको पीडा यसरी सुनाउनु भयो ।
खानीका मजदुरहरुका लागि जीवन सुरक्षाका लागि कसैले केहि गर्न नसक्दा यिनै पीडा बोकेर बाँच्नु परिरहेको उहाँले सुनाउनु भयो । केही पेशा व्यवसाय गरेको अहिलेसम्म जीवन केही फेरिन्थ्यो होला । तर गरिवको थाम्लोका कोइलाको भारी र नाम्लो अझै छुटेको छैन । जसका कारण मनमा राम जब्दै खानी जाने आउने चलिरहेको उहाँ भन्नुहुन्छ ।
‘ न मुल्य, न सुरक्षा ’
‘कालो कोईला खानी भित्र हाम्रा कपाल सेतै फुलिसके, न श्रमको मुल्य पाउछौं , न सुरक्षा छ । मरे पनि केही छैन, बाँचे पनि केही छैन । दिनको दुई छाक टार्न खानीमा पस्नुुपर्ने बाध्यता छ । खानी कहिले भत्कीन्छ, कहिले अक्सिजन हुदैन । धन्न बाँचेका छौं । ०५२ सालदेखि खानी पसिरहेको छु । जीवन अझै फेरिएको छैन । ’ सोही गाउँका प्रवद्र्धन राईले भने– ‘ हामीले खानीको दुख दाम र जीवनको सुरक्षा कहिले पाउछौं । ’ खानीको काम जोखिमपूर्र्ण काम रहेकाले मजदुरहरुले श्रमको उचित पारिश्रमिक र जीवन सुरक्षाको खोजी गरिरहेका बताउनु भयो ।
अहिले ५० वर्ष टेकेका राईको जीवन दुखसुख कोइला खानीले नै धकेल्दि रहेको छ । राईले भन्नुहुन्छ–‘ जवानीमा खानी पसेको हुँ, कपाल फुलिसक्यो, अझै निस्कन सकेको छैन । ’ जीवन चलाउने अन्य उपाय केही नहुदा खानीलाई आफूले छोड्न नसकेको उनको भनाई छ । जसका कारण खानीमै उनकोे जीवन बितिरहेको छ । राईको आधा जीवन खानीमा कोइला खेलाउदै बित्यो ।
सोलुखुम्बु स्थायी घर भएका राई २०/२२ वर्षको उमेरमा काम खोज्दै हिडेका बेला फलाटेको कोईला खानी भेटे । कोईला खानी काममा मात्रै दिएन, उनको घरजम पनि गराईदियो ।उहाँ अहिले खानीमा कोइला निकाल्ने काम मात्रै गर्दैनन्, उहाँले नयाँ कोईला खानी मजदुरहरुलाई आफ्नो सीप पनि सिकाउनु हुन्छ । लामै समय आफूले खानीमा काम गर्दै आइरहेकाले कतिपयले सिक्ने रहर गर्ने भएकाले आफुले जानेको सीप अरुलाई सिकाउदै पनि आइरहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो – ‘ नयाँ कामदाहरुले काम सिक्न मान्दैनन् । किनकी यो खानीको काम निकै अप्ठेरो हुन्छ । ’ खानीको काम निकै अप्ठेरो, असुरक्षित र न्युन पारिश्रमिकका कारण खानी प्रतिका आकर्षण त्यति नरहेको उहाँको भनाई छ । पत्रकार गिरिराज नेपालीको सहयोगमा