युरोपियन फुटबलको नयाँ च्याम्पियन शनिबार राति तय हुँदैछ । यो वर्ष युरोपको च्याम्पियन बन्ने होडमा छन् दुई इंग्लिस क्लब लिभरपुल र टोटनह्याम ।
इंग्लिस प्रिमियर लिग क्लबबिच पछिल्लो ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फाइनल हुन लागेको हो । साबिक उपविजेता लिभरपुल र पहिलो पतक फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि शनिबार मध्य रातमा स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।
यसअघि सन् २००८ को फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पेनाल्टीमा हराएर उपाधि जितेको थियो ।
यो पटकका फाइनलिस्ट दुवै क्लबले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गरेर मड्रिड यात्रा तय गरेका हुन् । पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनासँग ३–० ले पराजित भएर पनि लिभरपुलले दोस्रो लेगमा ४–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
यस्तै टोटनह्याम पनि डच क्लब अजाक्ससँग पहिलो लेगमा १–० ले पराजित भएको थियो । तर दोस्रो लेगमा ३–२ को जित निकाल्दै अवे गोलका आधारमा फाइनलमा स्थान बनाउन सफल रह्यो ।
गएको सिजन रियल मड्रिडसँग पराजित भएर उपाधिबाट वञ्चित रहेको जर्गेन क्लोप्पको टिम लिभरपुलले प्रिमियर लिगमा आफू भन्दा २६ अंक तल रहेको टोटनह्यामसँग फाइनल खेल्न लागेको हो यो सिजन । प्रिमियर लिग उपविजेता बनेको लिभरपुलको ९७ अंक थियो ।
लिभरपुल पाँच पटक युरोपको च्याम्पियन बनेको छ । पछिल्लो पटक उसले सन् २००५ मा उपाधि जितेको थियो । त्यसयता सन् २००७ मा एसी मिलान र गएको वर्ष रियल मड्रिडसँग फाइनलमा पराजित भयो ।
तर माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम भने पहिलो पटक फाइनलमा पुगेको हो । पछिल्लो ११ वर्षमा कुनै पनि उपाधि नजितेको टोटनह्याम ती सबै अभावको पूर्ति युरोपको च्याम्पियन बनेर पूरा गर्ने लक्ष्यमा छ । टोटनह्यामले सन् २००८ मा लिग कपको उपाधि जितेको थियो ।
खेल राति पौने १ बजे सुरु हुनेछ ।