काठमाडौं : कोरोना संक्रमणका कारण नेपालमा लकडाउन गरेको एक वर्ष पुगेको छ। सरकारले गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न लकडाउन गरेको थियो । त्यसपछि सकारले पटक पटक गरी चार महिनासम्म लकडाउन गराएको थियो ।
नेपालले गएको साउन ६ गते देखि लकडाउन हटाएको थियो। विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालमा पनि लकडाउन हटाईएको थियो । लकडाउन पछि अहिले जनजीवन विस्तारै सहज बन्दै गएको छ ।
तर छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको विज्ञहरुको विश्लेषण छ। लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ। भाने नागिरकमा त्रास फैलिएको छ ।
भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन्। भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरु घर फर्किने क्रम बढेको छ। फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ। उनीहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जाने छ। सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ।
भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ।
लकडाउन भएको एक वर्ष पूरा भएको दिन आज सरकारले यसको समीक्षा गर्दैछ। यस विषयमा छलफल गर्न दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ।
बैठकमा कोरोना संक्रमण र न्यूनीकरणको हालसम्मको अवस्था र फेरि बढ्न लागेको कोरोना संक्रमण जोखिममा अपनाउनुपर्ने सुरक्षा उपायबारे छलफल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।