दाङ –
बसमा यात्रा गर्दा निस्कने फोहर के गर्नुहुन्छ ? पक्कै पनि फोहर झोला अथवा गोजिमा राख्ने प्रयास त गर्नुहुन्न होला !
पानीको खाली बोत्तल, चाउचाउ, बिस्कुट, चकलेटका खोल लगायतका फोहर सोझै सडकमा फाल्ने गरिन्छ । जसले गर्दा राजमार्ग फोहर मार्ग जस्तै बनेको छ । अब यात्रा गर्दा फोहोर गर्नेहरुमाथि निगरानी हुने भएको छ । सबै प्रकारका सवारी साधन चढेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई ट्राफिक प्रहरीले निगरानी गर्ने भएको हो ।
प्रदेश ५ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश भित्र सञ्चालन हुने सबै प्रकारका सवारी साधनबाट सार्वजनिक सडकमा यात्रा गर्दा फोहर फाल्न पूर्णरुपमा निषेध गरेपछि ट्रफिक प्रहरीले राजमार्गमा चल्ने सवारी साधनमा अनिवार्य डस्टिबिन राख्न लगाएको छ ।
राजमार्गमा गुड्ने सवारी साधनमा अनिवार्य डस्टिविन राख्न लगाइएको ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए । ‘सबै प्रकारका यातायातका साधनमा फोेहर संकलन गर्ने डस्टविन अनिवार्य राख्न लगाएका छौँ । यात्रुले पनि यात्रा गर्दा आफ्नो कारणले निस्केका फोहर डस्टिविनमा संकलन गर्नुपर्छ’ केसीले भने, ‘यात्रुलाई चालक र सहचालकले डस्टिविनमा फोहर फाल्ने बारे अनिवार्य जानकारी दिनुपर्छ । यदि सडकमा फोहर फालेको पाएमा कानून बमोजिम कारबाही हुन्छ ।’
सवारी साधनमा अनिवार्य डस्टिबिनको व्यवस्थापन हुन थालेपछि यात्रुहरुले खशसी व्यक्त गरेका छन् । ‘सडकमा फोहर फाल्ने मन नहुँदा नहुँदै पनि फाल्नु पर्ने बाध्यता हुन्थ्यो । अब गाडी भित्रै डस्टिविन भयो भने त्यहीँ फोहर फाल्न सकिन्छ’ यात्रु रमेश चौधरीले भने, ‘यो निर्णय छिटो कार्यान्वयनमा आउनुपर्छ ।’
यहि जेठ १५ गते गणतन्त्र दिवसबाट लागु हुने गरी प्रदेशका १२ जिल्लामा सवारी साधनबाट फोहर फाल्न, शौचालय नभएको ठाउँमा गाडी रोकेर दिसा पिसाब गराउन निषेध गरेको छ । सवारी साधन भित्र अनिवार्य डस्टविनको व्यवस्था गर्न र सार्वजनिक शौचालय, शौचालय भएका होटल तथा पेट्रोल पम्प, रिफ्रेस सेन्टरमा सवारी साधन रोकेर दिसा पिसाब गराउने व्यवस्थापन मिलाउन अनुरोधसहितको सार्वजनिक सूचना जारी गरिएको छ ।
सवारी साधनको झ्याल तथा ढोकाबाट कुनै पनि बस्तु सडकमा फाल्न पाइने छैन । सवारी साधन रोकी पानी, प्लास्टिक लगायत फोहर जन्य पदार्थ सडक किनारामा फाल्न निषेध गरिएको छ । जंगल वा खुल्ला ठाउँमा सवारी साधन रोकी दिसा पिसाब गर्न निषेध गरिएको छ ।
सवारी साधन भित्र फोहर संकलन गर्ने डस्टविन अनिवार्य रुपमा राख्ने र त्यो डस्टविनमा जम्मा हुने फोहरको व्यवस्थापन सवारी साधनका प्रतिनिधिले गर्नुपर्ने छ । नियम पालना नगर्ने सवारी साधनका व्यवस्थापक, चालक वा परिचालकलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित स्थानिय तहबाट कारबाही गरिने उल्लेख गरिएको छ ।From Deshsanchar