प्युठान- जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्लामा रहेका पेट्रोल पम्पहरुले मागअनुसार पेट्रोलियम पदार्थ आपूर्ति नगरेको भन्दै पम्प सञ्चालकहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
दर्ता गरेर पनि पेट्रोल आपूर्ति नगर्ने पम्पहरुको लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी स्थानीय प्रशासनले दिएको हो। प्युठानको बिजुवार क्षेत्रमा रहेका २ वटा पम्पहरुले उपभोक्तालाई पर्याप्त पेट्रोल उपलब्ध गराउन नसकेको चौतर्फी गुनासो आएसँगै नेपाल आयल निगम नेपालगन्ज डिपोले झिमरुक आयल सप्लायर्स प्रालिलाई स्पष्टिकरण सहितको पत्र पठाएको छ।
पेट्रोल पम्प परिसरबाट पेट्रोल बिक्रीवितरण नगरी बजारमा अभावको सिर्जना गरिएको जनगुनासो आएकाले 'चित्त बुझ्दो जवाफ दिनुपर्ने यदि अन्यथा भए कानुनी कारबाही अगाडि बढाइने' स्पष्टीकरण पत्रमा उल्लेख छ।
जिल्लास्थित पेट्रोल पम्पहरुलाई प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन बारम्बार ताकेता गरेको र दुवै पक्ष बसेर आपूर्ति सहज बनाउने विषयमा मौखिक समझदारी भए पनि कार्यन्वयन हुन नसकेपछि सञ्चालकलाई पत्र पठाइएको जिल्ला प्रशासन कार्यालय प्युठानले बताएको हो।
पेट्रोल पम्प सञ्चालककै कारण महिनौं दिनसम्म पनि पम्पमा पेट्रोल आपूर्ति हुन नसकेकाले यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।
पम्प सञ्चालकहरुले आयल निगमको दोष देखाउँदै पेट्रोल आपूर्ति हुन नसकेको बताउँदै आएका थिए भने उपभोक्ताहरुले पेट्रोल पम्पले आपूर्ति नगरेकाले समस्या भएको गुनासो गर्दै आएका थिए।
व्यवसायीहरुको समस्या समाधानका लागि नेपाल आयल निगम र आपूर्ति व्यवस्था विभागसँग परामर्शसहित अगाडि बढेको बताइएको छ। पम्पमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ।
सेवाग्राहीले पम्पबाट पेट्रोल नपाएपछि बजारमा मिनिरल वाटरको बोतलमा प्रतिलिटर १ सय ५० रुपैयाँसम्म तिरेर सवारी चलाउन बाध्य छन्। गैह्रकानुनी तरिकाले खुलेआम पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्नेलाइ कानुनअनुसार कडा कारबाही गरिने प्युठान प्रशासनले जनाएको छ।