काठमाडौँ : मंगलबार देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली भएको हो।
अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशमा आंशिक बदली भएको छ ।मंगलबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
यसैगरि राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैबिच पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवात यासमा परिणत भैसकेको छ । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार धेरै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । बुधबारसम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको मौसमविदले बताएका छन् ।
उक्त चक्रवातको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले सबैलाई मौसम सजग रहन मौसमविदले आग्रह गरेका छन् ।
सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लासगि पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन मौसमविदले आग्रह गरेका छन् ।