काठमाण्डाै : चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप भेरोसेल सरकारले आजदेखि देशभर लगाउन सुरु गर्दैछ ।
देशभरका ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।
खोपको उपलब्धताका आधारमा देशका विभिन्न स्थानका ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।
हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक-पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो । डाक्टर गौतमले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गर्नुभयो ।
पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ । यसैविच दाङमा कोरोना विरुद्धको ‘भेरोसिल’ पहिलो चरणको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ६२देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन लागिएको छ ।
दाङका १० स्थानीय तहका जम्मा ६ लाख ५५ हजार ७ सय ६१ नागरिक मध्ये पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेरका ८ हजार ४ सय १० जनालाई खोप लगाउने भएको छ ।खोप लगाउन आउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागज वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिस साथमा लिएर आउन आम नागरिकलाई अनुरोध पनि गरेको छ ।
साथै लक्षित समूहलाई मात्र खोपको आपूर्ति हुने र खोप लगाउने कार्य एक देखि दुई दिनभित्र सम्पन्न गर्न भनिएको छ । सोही अनुसार पालिकाहरुले खोप केन्द्र तोकी सञ्चालन गर्न थालेका छन् । भेरोसिलको पहिलो मात्रा लगाइ सकेपछि दोस्रो मात्रा समेतको सुनिश्चितता हुने पनि स्वास्थ्य कार्यालयले बताएको छ ।
यता बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानहरुबाट कोरोना विरुद्धको खोप लगाईने भएको छ । गाउँपालिकाको विभिन्न पाँच स्थानबाट कोरोना विरुद्धको खोप लगाईने बंगलाचुली गाउँपालिकाले जानकारी दिएको छ ।