काठमाडौँ : सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया तत्काल सुरु गर्ने भएकोछ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आजको बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको हो ।
तर अहिलेलाई १० लाख मात्रा खोप जुन भित्रै ल्याउने गरि प्रक्रिया थालिने भएको केन्द्रका प्रमुख बालानन्द शर्माले जानकारी दिनु भयो ।
चीनले खोप तत्काल उपलब्ध गराउने सक्ने जनाएकाले खरिद प्रक्रिया थालिने भएको उहाँले जानकारी दिनु भयो । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीनको सिनोफार्म कम्पनीबाट खोप खरिद गर्ने निर्णय गरेको थियो ।
यसैविच सरकारलले नेपाली कामदारहरु रहेका देशहरुमा नियमित उडान सुरु गर्ने निर्णय भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बिहीबार बसेको बैठकले मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने निर्णय गरेको प्रमुख बालानन्द शर्माले जानकारी दिनु भयो ।
हप्तामा दुई हजार मानिस नेपाल ल्याइने र त्यसमा १५ सयजना नेपाली कामदार हुनै पर्ने व्यवस्थासहित उडान अनुमतिको निर्णय भएको शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी देशबाट नेपाली कामदारलाई प्राथमिकतामा राखेर ल्याइने छ । रोजगारीका लागि जान चाहनेहरु जाने र त्यहाँबाट आउन चाहने नेपाली कामदारहरुलाई प्राथमिकताका साथ ल्याइने भएको छ ।
आफ्नो खर्चमा आउन नसक्ने नेपाली कामदारलाई राज्यको खर्चमा ल्याउने व्यवस्था गर्ने निर्णय पनि भएको शर्माले जानकारी दिनु भयो ।
उहाँका अनुसार कुन देशमा हप्ताको कति उडान हुने भन्ने विषयमा कामदारको चाप अनुसार निर्णय छ । वैदेशिक रोजगारीमा जाने र उताबाट आउन चाहने नेपालीलाई ध्यानमा राख्दै हवाई उडान खुला गर्ने निर्णय भएको हो ।