काठमाडौँ : पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६०९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी छ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न ठाउँमा २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुने दर ९३ दशमलव ५ प्रतिशत छ । हालसम्म छ लाख ७१ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी देशभर ३६ हजार २८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेशनमा छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ३८१ जना छन् । सात सय ४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैविच दाङमा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १० पुरुष र ८ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ५ जना, लमहीका २ जना, बबई र गढवाका एक/एक जना रहेका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
सोमबार थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ४३ पुगेको छ । ति मध्य १ सय १३ जना घरमा, अक्सिजन सहितको उपचारमा २४ जना र आईसियूमा ६ जना रहेका छन् ।
यस्तै सोमबार दाङमा १६ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका १२ जना, तुलसीपुरका २ जना, गढवा र शान्तिनगरका एक/एक जना रहेका छन् ।
थपिएका १८ जना सहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ जना रहेको छ भने ८ हजार २ सय २९ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय ९ जनाको मृत्यु भएको छ ।