घोराही ३ असार । घोराही उपमहानगरपालिका वडा नं. १७ ले वडा स्तरिय योजना छनौट प्रक्रिया सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि जनप्रतिनिधिहरु टोल—टोलमा पुगेर योजना छनौट गर्न थालेको हो ।
जनताको प्रत्यक्ष सहभागितामा योजना छनौट गरी वडा स्तर वाट हुने कार्य वडावाट गर्ने र ठुला योजनाको लागि नगरसभामा र प्रदेशमा पठाउने गरी योजनाहरु माग गरेको वडा सदस्य बाबुराम चौधरीले जानकारी दिनुभयो ।
योजना छनौट कार्यक्रममा टोलवासीहरुले टोलमा रहेका सामुदायिक भवनको संरक्षण, खेलकुद मैदान, कृर्षी सडक, कल्भर्ट निर्माण, विद्युत पोल व्यवस्थित, वैकल्पीकर वाटोको सुधार, कुलो मर्मत लगायतका मागहरु समेटेका थिए । वडा नं. १७ मा रहेका ४८ टोल मध्ये ३ वटा टोलको संयुक्त सहभागितामा योजना छनौट गरिएको थियो ।
योजना छनौटमा असारे टोल, सरस्वति टोल धाइरेखुटी, डबरी टोलको सहभागिता थियो । वडा सदस्य रेमन्ता पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्ती, डबरी टोलका अध्यक्ष सन्तोष चौधरी, भिमप्रसाद सुवेदी, असारे टोलका चुडामणी आचार्य, लगायतले योजनाहरु माग गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव तेजकुमार शर्माले गर्नुभएको थियो ।