नेपाल संस्कृत विश्व विद्यालय बेल्झुण्डीमा व्यावसायिक विषयको पढाइ हुने भएको छ । वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सा लगायतका शिक्षाको पनि अध्यापन गराउने भएको हो ।
विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङको पढाइ सुरु गर्न थालेको बताएको छ । वास्तु इञ्जिनियरिङको अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको विश्वविद्यालयले जनाएको छ । १२ कक्षाको रिजल्ट आएपछि शास्त्री अर्थात् स्नातक तहको लागि भर्ना आह्वान गर्दा वास्तु इञ्जिनियरिङको पनि भर्ना खोलिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले बताए ।
वैदिक कृषिलाई आधुनिक कृषिसँग जोड्ने गरी अध्यापन हुने गरेर कृषि विषयको पनि पाठ्यक्रम तयार भइरहेको विश्वविद्यालयले बताएको छ । यी दुवै विषयले वैदिक दर्शनलाई आधुनिकतासँग जोडेर वर्तमान समयको आवश्यकता पूर्ति गर्ने तथा बेरोजगार नहुने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको विश्वास छ । नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न क्याम्पसमा अध्यापन भइरहेका ५६ विषयको पाठ्यक्रम २२ वर्षपछि परिवर्तन गरेर शास्त्री तहलाई चार वर्षे बनाएको छ ।
देशभित्रकै अन्य विश्वविद्यालयसँग समकक्षी हुने गरी तीन वर्षे शास्त्री तहलाई यही शैक्षिक सत्रदेखि चार वर्षे बनाउन थालिएको उपकुलपति प्राध्यापक डाक्टर लामिछानेले बताए । विश्वविद्यालयले स्नातकोत्तर तहमा जिवन व्यवस्थापन, स्नातक तहमा फार्मेसीलगायतका नयाँ विषयको अध्यापन पनि सुरु गर्ने तयारी गरिरहेको छ ।