दाङ-बंगलाचुली गाउँपालिकाले चैत्र एक गते देखि एक महिना सरमाथा र सम्राट सिमेन्ट उद्योग बन्द गराउने भएको छ । मदन भण्डारी सहायक मार्गमा पर्ने घोराही-मुर्कुटी सडक खण्डलाई समयमै कालोपत्रे गर्न र सिमेन्ट खानिको पहुँच मार्ग अनाराम (तापा) चोक देखि तापा र थारा सम्मको सडक खण्ड पनि संगै कालोपत्रे गर्नका लागि खानि बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको कार्यालय कमिरेचौरमा शनिवार बसेको सर्वदलिय सर्वपक्षिय बैठकबाट यस्तो निर्णय गरिएको हो । खानी बन्द भएपछि सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने टिप्परहरु पनि बन्द हुने छन् ।
घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने सयौँ टिप्परहरुका कारण घोराही मुर्कुटी सडक खण्डमा सडकको अवस्था निकै विग्रीएको र निर्माण व्यवसायीलाई कालोपत्रे गर्न समस्या भएको हुँदा सडक कालोपत्रेका लागि सहजिकरणका गर्न खानीको उत्खनन बन्द गरेर कालोपत्रे गर्न लागिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
शनिवार बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षतामा वसेको बैठकले चैत्र एक गते देखि चैत्र मसान्त सम्ममा सडक कालोपत्रेको पहिलोचरण सक्ने गरी निर्णय गरीएको हो ।
बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानबाट सिमेन्ट खानिहरुले चुनढुङ्गा उत्खनन गर्ने र सोको ढुवानी गर्ने टिप्परले सडकमा हिउँदको समयमा धुलै -धुलो र वर्षाको समयमा हिलै-हिलो बनाउँदा सयौँ जनताले निकै सास्ति भोग्नु परेको छ । अहिले घोराही- मुर्कुटी- प्युठान सडक खण्डको कालोपत्रेको जिम्मा पाएको जलजला निर्माण सेवा प्रा.लिले टिप्परकै कारण सडक कालोपत्रेको काम समयमै गर्न नसकेको बताउँदै कालोपत्रेको काम समयमै गर्न सकेको छैन ।
सडक कालोपत्रे नहुँदा जनताहरुले पटक पटक बंगलाचुली गाउँपालिकामा कुरा उठाउँदै आएकोहुँदा गाउँपालिकालेनै अगुवाई गरेर समयमै सडक कालोपत्रेको वातावरण बनाएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
यसैविच गाउँपालिकाले सडकको कालोपत्रे गर्ने जिम्मा लिएको जलजला निर्माण सेवा प्रा.लिलाई समयमै कालोपत्रेको काम सक्नेगरी काम गर्न सडक डिभिजन कार्यालय घोराहीलाई अनुरोध पनि गरेको छ । कालोपत्रेको काम तोकिएको समय भित्र नगर्दा जनताले सास्ति भोग्नु परेको स्मरण गराउँदै समयमै कालोपत्रेको काम सक्न ताकेता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनु भयो । सर्वदलिय सर्वपक्षिय बैठकको सहजिकरण बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गर्नु भएको थियो ।