आज महाशिवरात्रि पर्व दाङ सहित देशभर शिवको विधिपूर्वक पूजा–आराधना गरेरमनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् ।
आज दाङको धारापानी, सवारीकोट, बेलझुण्डीको शिबालय मन्दिर,तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सितलपुर स्थिर सिद्धेश्वर शिव मन्दिर, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ ड्वाङपुर स्थित हात्ती ढुंगा भएको स्थानमा शिव मेला लागेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा भोटे मेला लाग्दैछ । यी स्थानमा विहानै देखि मेला भर्न आउनेको भीडभाड छ ।
शिवकाे विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूकाे विश्वास रहेकाे छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज हरेक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ त्यसै आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।