दाङ २१ जेठ। नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य निसानदाजु भट्टराईलाई कार्वाही स्वरुप नेपाल पत्रकार महासंघ दाङ शाखाले शाखामा रहेको सदस्यता खारेज गरेको छ । साधारण सदस्य भट्टराईलाई यसअघि पत्रकार आचारसंहिताको उल्लंघन गरेको ठहर गर्दै २ महिना निलम्बन समेत गरेको थियो ।
भट्टराई सच्चिनुको साटो फेरि पनि पहिले भन्दा झनै पत्रकार आचारसंहिताको गम्भिर उल्लंघन गरेको, संस्थागत मर्यादामा गम्भिर आँच पुर्याएको र सच्चिने लिखित प्रतिबद्धता सहित आत्मालोचना गर्ने भनिएकोमा त्यसो नगरी संस्थागत अनुशासन र निर्देशनको उल्लंघन गरेकाले भट्टराईको सदस्यता सदाका लागि खारेज गर्ने निर्णय गरिएको महासंघका सचिव भुपेन्द्र वलीले बताउनुभयो ।
शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको शाखाका पुर्वअध्यक्ष, शाखा सल्लाहकार, शाखाका पूर्व पदाधिकारी तथा पेशागत संघसंगठन सम्मिलित बैठकपछि महासंघले जारी गरेको विज्ञप्तिमा भट्टराईको सदस्यता खारेज गरेर केन्द्रिय समितिमा सिफारिस पठाउने निर्णय गरेको बताएको छ ।
बैठकले शाखाबाट कारबाही परेका व्यक्तिहरुबाट आचारसंहिताको उल्लंघन भइरहेको भन्दै सत्य भन्दा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि समाचार लेख्ने गरेको, पुष्टि नगरी सुचना सामाजिक सञ्जालमा लेखेर व्यक्तिगत आक्षेप लगाउने गरेको भन्ने गुनासो आइरहेकाले आचारसंहिता विपरितका त्यस्ता क्रियाकलाप गरेको पाइए महासंघलाई तत्काल जानकारी गराउन आम जनसमुदायमा अनुरोध गर्ने निर्णय गरेको छ ।
महासंघले कारबाही गरिसकेपछि पनि सच्चिनुको साटो त्यस्ता क्रियाकलाप जारी रहे महासंघ थप कडा कारबाही प्रक्रियामा उत्रने अध्यक्ष सविन प्रियासनले बताउनुभयो । कारबाही गरिएका व्यक्तिहरुलाई प्रोत्साहन हुने गरी प्रश्रय नदिन सरकारी तथा निजी निकायहरुमा महासंघले कारवाही गरेका व्यक्तिहरुको नाम उल्लेख गरी लिखित पत्राचार गर्ने भएको छ ।
साथै नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान सचिव गजेन्द्र बोहराकी आमा भिमा बोहोराको असामयिक निधन भएकोमा स्वर्गीय आमाको आत्माको चिर शान्तिको कामना गर्दै बैठकबाट शोकप्रस्ताव पारित गरेको छ । घटनाबाट शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।