गुल्मी २८ जेष्ठ ।
यमबहादुर छन्तेल ७२ वर्ष लागे, तर उनमा अझै तन्नेरीको जस्तै जोस छ । उनी सोरठीका होनाहार कलाकार, तन्नेरीका बीचमा छन्तेल बाजे, सोरठीका गुरु बाले चिनिन्छन् । उनी गीत निकाल्छन्, तन्नेरी लय समात्छन्् । विशेष गरी सोरठी, झ्याउरे, सालैजो र दोहोरीमा उनी अब्बल कहलिएका छन् । गाउँका जैलाल श्रीस, बंगाली श्रीस, बहादुर आले र तीलवीर विक सोरठीका लिडर थिए । भार्सेमा यी चारजना हुँदै छन्तेलसम्म सोरठी आएको छ । अहिले छन्तेललाई एउटै पिरलो छ,– यो कला र संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने ?
सोरठी नाच गुरुङ र मगर समुदायमा निकै प्रख्यात छ । पहिले सोरठीको अर्थ सोह्रवटी सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठूलो समूहमा नाच्ने गरिन्छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न यो नृत्य गर्ने गरिन्छ । १५ रानी र एक राजकुमारी गरी १६ स्त्रीहरूसँग सम्बन्धित भएकाले सोह्रवटी बाट सोरठी भएको छन्तेलले बताए । पछिल्लो समय छन्तेलले नयाँ युवाहरूलाई सोरठी सिकाइरहेका छन् ।
भार्से गाउँका नारायण विक छन्तेलपछिका आशा लाग्दा कलाकार हुन् । गाउन र बजाउन अब्बल विक कला पुस्तान्तरण भइरहेको बताउँछन् । ‘कला पुस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो, छन्तेल बापछि मैले सिकँे,’ उनले भने, ‘मैले अरूलाई पनि सिकाइरहेको छु ।’ विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थीहरूलाई परम्परागत कलाको अध्ययन र सीप हस्तान्तरण गर्न सके संस्कृति लोप नहुने उनले बताए । सोरठी अरू गीत र नाचजस्तो सजिलो भने छैन । सोरठीको कुनै लिपि नभएकाले यो गला–गलामार्फत पुस्तान्तरण भएको छ । ‘लामो मेलो भएकाले लगाव नभए कहिलेकाहीँ बिर्सने समस्या छ,’ विकले भने । सोरठीमा चारजना मारुनी, चार मादले, एक पुरुसुंगे र आवश्यकताअनुसार गाउने हुन्छन् ।
भार्सेको प्रख्यात कृष्ण चरित्र
कृष्ण जन्माष्टमीमा देखाइने कृष्ण चरित्र भार्सेको प्रख्यात कला र संस्कृति हो । जिल्लाका अधिकांश स्थानमा यो गीत र नृत्य संकटमा परेको छ । तर, भार्से गाउँमा यो संस्कृति जीवित छ । पाको पुस्तादेखि नयाँ पुस्ताले यो गीत र नृत्य प्रस्तुत गर्दै आएका छन् । कृष्णले बाल्यकालमा गरेका हरेक क्रियाकलाप गीतमार्फत गाउने र अभिनय गरेर देखाइने कृष्ण चरित्रका गुरु ६६ वर्षीय मनबहादुर श्रीसले बताए । यो गीत र नृत्य ०४२ सालको एकता दिवसमा लुम्बिनी अञ्चलमै उत्कृष्ट भएको श्रीसले बताए ।
कला र संस्कृति पनि गाउँका भीमबहादुर बुढाथोकी, रविलाल काउचा, मोतीप्रसाद बुढाथोकी हुँदै मनबहादुरले सिकेका हुन् । अहिले युवा–युवती श्रीससँगै यो गीत गाउँछन् र नाच्छन् । शिक्षिक युवाले चाहे एक हप्तादेखि १५ दिनमा गाउन र नाच्न सक्ने टोलीका मादले पदमबहादुर गुरुङले बताए ।२१ वर्षीया सुशीला दर्लामीले कृष्ण चरित्र कण्ठै गरेकी छिन् । बुवा चिन्तारामले पनि कृष्ण चरित्र गाउँछन् । उनीबाटै छोरीले पनि सिकिन् । अहिले समूहमा गीत गाउँदै हिँड्ने गर्छिन् । उनले १५ वर्षीया एन्जिला गलामीलाई पनि सँगसँगै हिँडाउँछिन् । कृष्ण चरित्र, सालैजो, सोरठी गाउँदै आएकी सुशीलाले लोकदोहोरी र चुट्काजस्तो नहुने बताइन् । नयाँ पत्रीकाबाट