दाङ: बंगलाचुली गाउँपालिकालाई लायन्स क्लव अफ घोराही सिटीले अक्सिजन कन्सन्ट्रेटर मेसिन सहित विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन बंग्लाचुली गाउँपालिका पुगेर अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन क्लवले गरेको सहयोगका लागी धन्यवाद ब्यक्त गर्नुभयो । कोरोना नियन्त्रणका लागी विकट क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ बंग्लाचुली गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामाग्री प्रदान गरिएको क्लवका विमल श्रेष्ठले बताउनु भयो । अक्सिजन कन्सन्ट्रेटरसहित पिपिई, अक्सिमिटर, सेनिटाईजर र मास्क पालिकाहरुलाई दिईएको हो ।
यसैविच लायन्स क्लव अफ घोराही सिटि र जल्पा सामुदायिक लघुवित्त संस्थाले बंगलाचुली गाउँपालिकाका २० घरधुरीलाई राहत सामाग्री वितरण गरेका छन् । बंगलाचुली गाउँपालिका ३ कमिरेचौरका २० घरधुरीलाई लायन्स क्लव अफ घोराही सिटि र जल्पा सामुदायिक लघुवित्त संस्थाले संयुक्त रुपमा राहत सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिनुभयो ।
लायन्स क्लव एरिया ५ का एरिया चिफ युवराज थपलिया, जल्पा सामुदायिक लघुवित्त संस्थाका प्रदेश प्रमुख पवन योगी र लायन्स क्लव अफ घोराही सिटिका अध्यक्ष विमल श्रेष्ठको उपस्थितीमा राहत वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १५ सय रुपैयाँ बराबरको खद्यान्न वितरण गरिएको हो । २० घरधुरीका लागी चामल, दाल, तेल, बेसार, साबुन र मास्क वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि क्लवले राजपुर र लमही नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । यूकेमा रहेका नेपालीहरुको समुह यूके नेपाल समाजले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन ५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो । भगिरथ योगीको नेतृत्वमा समाजबाट दाङका लागी प्राप्त भएको साढे ३ लाख रुपैयामा ३ थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।