कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिकाको नवौँ गाउँसभा वुधबार कमिरेचौरमा सम्पन्न भएको छ । गाउँ सभाले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा, लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण,स्वास्थ्य, पूर्वाधार, आर्थिक विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले यस वर्ष "शिक्षा, स्वास्थ्य र सुरक्षित आवासमा लगानी, संमृद्ध बंगलाचुलीको विहानी" भन्ने मुल नारा तय गर्दै बजेट लिएको हो ।
गाउँपालिकाले पुँजिगत तर्फ ३१ करोड ४५ लाख २२ हजार अर्थान ५१ प्रतिशत र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलव भत्ता,कार्यक्रम,सामाजिक सुरक्षामा ५ करोड सहित २९ करोड ८२ लाख ४४ हजार अर्थात ४९ प्रतिशत गरी जम्मा ६१ करोड २७ लाख ६६ हजारको बजेट पेश गरेको छ ।
जसमा तलव भत्ता कार्यालय संचालन तथा व्यवस्थापन लगाएत प्रशासनिक खर्च तर्फ ७ करोड अर्थात कुल व्यय अनुमानको ११ प्रतिशत मात्र खर्च अनुमान गरिएको छ ।
विनियोजित बजेट मध्य नेपाल सरकारको अनुदान बाट २४ करोड १६ लाख,संघिय राजश्व बाँडफाँडबाट ८ करोड ६२ लखा, प्रदेश सरकारको अनुदान बाट ३ करोड ४२ लाख ३५ हजार ,प्रदेश राजश्व बाँडफाँडबाट ७३ लाख ३१ हजार र आन्तरिक राजश्व बाट २ करोड ३२ लाख गत बर्षको मौज्दात १ करोड ५० लाख आय अनुमान गरिएको छ।
गाउँपालिकाले यस वर्ष पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिलकाले शिक्षामा २१ करोड ८२ लाख अर्थात कुल बजेटको ३५ प्रतिशत र स्वास्थ्यमा १० करोड १७ लाख अर्थात कुल बजेटको ५१ प्रतिशत बजेट विनियोजन गरेको छ ।
त्यसैगरी संघ तथा प्रदेश सरकारको सहकार्यमा गत आर्थिक वर्षदेखिनै संचालनमा आएको "खरको छानो मुक्त अभियान" लाई निरन्तरता दिदै यस आ.ब. २०७८/०७९ मा सबै घरधुरी खरको छानो मुक्त तुल्याउन गाउँपालिकाभित्र थप १५०० भन्दा बढी घरधुरीको लागि ७ करोड ६४ लाख बजेट विनियोजन गरीएको छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासन, महिला उत्थान कार्यक्रम, लक्षित समुदाय कार्यक्रम, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षाका लागि ८ करोड २ लाख २२ हजार रकम विनियोजन गरेको छ । त्यसैगरी शहिद परिवार, घाइते, अपाङ्ग सहयोग कार्यक्रम तथा मासिक ५ सय रुपैयाँ वृत्ति पाउने गरी शहिद, घाइते तथा बेपत्ता परिवार सम्मानका लागि समेत १६ लाख विनियोजन गरिएको छ ।
त्यस्तै गाउँपालिकाले भौतिक पूर्वाधार तर्फ ३ करोड ७३ लाख विनियोजन गरेको छ ।गाउँपालिकाले संस्थागत क्षमता विकास तथा शुसानका लागि १ करोड ३८ लाख ८१ हजार विनियोजन गरेको छ । त्यसैगरी आर्थिक विकास तर्फ २ करोड ८६ लाख ४४ हजार विनियोजन गरीएको छ ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यमुना घर्तिमगरले बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँसभाको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गर्नु भएको थियो ।
यसैविच दाङको बंगलाचुली गाउँपालिकाले २५ वर्ष सम्मा विभिन्न माध्यमबाट राष्ट्रसेवामा क्रियासील कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले गाउँसभाको अवसरमा शिक्षक,निजामति कर्मचारीलाई सम्मान गरेको हो ।
दाङको बंगलाचुली गाउँपालिकाले यस गाउँपालिका अन्तर्गत कार्यरत सबै राष्ट्रसेवक शिक्षक तथा कर्मचारीलाई कम्तिमा ५ दिनको पर्यटन काज दिने भएको छ । संघिय सरकारले राष्ट्रसेवकहरुलाई मात्र पर्यटन काजको व्यवस्था गरे पनि बंगलाचुली गाउँपालिकाले भने राष्ट्रसेवक तथा शिक्षक कर्मचारीहरुलाई पर्यटन काजको व्यवस्था गरेको हो ।