जीवन नेपाली
कमिरेचौर,३० जेष्ठ ।
आर्थिक वर्ष सकिनै लाग्दा दाङको बंगलाचुली गाउँपालिकामा यस आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाहरु काम तिव्र गतिमा भैरहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा हाल सम्म ६२ प्रतिशत कार्य सम्पन्न गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।
गाउँपालिकाले प्रथम तथा द्धितिय चौमासिक अवधिमा भएगरेका प्रमुख गतिविधिहरुको विहीवार सार्वजनीक सुनुवाई कार्यक्रम गरेर यसको जानकारी गराएको हो । सार्वजनीक सुनुवाईमा बंगलाचुली गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत ओलीले समग्र योजना तथा बजेटको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत ओलीका अनुसार बंगलाचुली गाउँपालिकामा अहिले ५ सय ९७ वटा विभिन्न योजनाहरु रहेका छन् । जसमध्य ३ सय ७५ वटा योजनाकामहरु सम्पन्न भएका छन् । भने २ सय २२ वटा योजनाहरु सम्पन्न गर्न बाँकी रहेको अधिकृत ओलीले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिकाले यही बैखाश मसान्त सम्ममा संघीय सरकार विशेष अनुदानमा ४८ प्रतिशत,संघीय सरकार समपूरक अनुदानमा २७ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा २४ प्रतिशत,सामाजिक सुरक्षा भत्तामा शत प्रतिशत,प्रदेश सरकार समपुरक अनुदानमा ९१ प्रतिशत बजेट कार्यान्यन गरेको छ ।
त्यसैगरी प्रदेश सरकार सशर्त अनुदानमा ३६ प्रतिशत,मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा ३ प्रतिशत,स्थानीय पुर्वाधार विकास साझेदारी (पुजीगत)मा ३५ प्रतिशत,झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा २८ प्रतिशत,प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रममा ९० प्रतिशत,प्रशासनिक चालु खर्च (राजश्व) बाँडफाँड र आन्तरिक आयमा ३५ प्रतिशत बजेट कार्यान्वय गरेको प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिनु भयो ।
यस्तै पुजिगत खर्च वित्तिय समानिकरण अनुदान, आन्तरिक आय, राजश्व बाँडफाँड, प्रदेश वित्तिय समानिकरण, प्रदेश राजश्व बाँडफाँडमा ६३ प्रतिशत र सशर्त अनुदानमा ६८ प्रतिशत बजेट कार्यान्वयन गरेको उहाँले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीको अध्यक्षतामा विहीबार सार्वजनीक सुनुवाइ कार्यक्रम सम्पन्न गरीएको हो । सो अवसरमा कार्यक्रमका सहभागीहरुले गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सामु विभिन्न विषयमा जिज्ञाँसा राखेका थिए । भने उहाँहरुले उठेका जिज्ञाँसाका बारेमा बोल्नु भएको थियो ।
सो अवसरमा बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले बंगलाचुली गाउँपालिकाको विनीयोजित योजना लाई समयमै सम्पन्न गराउन जनप्रतिनिधी र कर्मचारी सबैले सकृयता देखाइ रहेको बताउनु भयो । उहाँले समग्र बंगलाचुली गाउँपालिकाको विकासका लागि सबै उत्तीकै सक्रियाताका साथ लाग्नु पर्नेमा जोड दिनु भयो ।
सार्वजनीक सुनुवाइ कार्यक्रमको सहजीकरण घोराही उपमहानगर पालिकाका शाखा अधिकृत प्रेम केसीले गर्नु भएको थियो । भने कार्यक्रकको बारेमा नेपाल पत्रकार महाँसंघ दाङ्ग शाखा सचिव भुपेन्द्र वलीले जानकारी गराउनु भएको थियो ।
बंगलाचुली गाउँपालिकाको सकारात्मक प्रयास तथा प्रमुख उपलब्धिहरु
- गाउँपालिकाको संबृद्धिको मेरुदण्डको रुपमा रहेको घोराही-मुर्कुटी-प्यूठान सडकखण्ड गाउँपालिकाको पहल तथा संघिय सरकारको सहयोगमा मदन भण्डारी लोकमार्ग कायम भर्इ कालोपत्रे कार्य द्रुत गतीमा अगाडी बढेको ।
- गाउँपालिकाको पहल संघिय संसदका सभामुखको क्रियासिलता र संघिय सरकारको मद्दतबाट काभ्रे स्वास्थ्य चौकीमा १५ शैया अस्पताल स्विकृत भर्इ संघिय समपूरक अनुदानबाट अस्पतालको निर्माण कार्य प्रारम्भ भएको र निकट भविस्यमै सेवा प्रारम्भ गर्ने तयारी रहेको ।
- समाजवाद उन्मुख नेपाली समाजको निर्माणका लागि सामाजिक न्यायको हक स्थापित गर्न विपन्न तथा घरबारविहिन अशक्त द्धोन्दपिडितका लागि संघिय सरकारको विशेष अनुदान र स्थानीय सरकारको साझेदारी मार्फत जनता आवास कार्यक्रम गाउँपालिकाका ५ स्थानमा प्रारम्भ गरिएको ।
- गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा पिउने पानीको हाहाकारलार्इ अन्त्य गर्न प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ठुलो खोला लिफ्ट खानेपानी आयोजना प्रारम्भ भएको ।
- यस आ.ब. गाउँपालिकाको योजना निर्माणकाल भएकोले बृहत गुरुयोजना, भवन निर्माण तथा सडक मापदण्ड तथा गुरुयोजना, पर्यटकिय स्थलको डि.पि.आर तथा गुरुयोजना र केही मुख्य सडकहरुको (तिन) डि.पि.आर निर्माण भएको ।
- गाउँपालिका केन्द्र र वडा केन्द्र जोड्नको लागि स्थानीय सडकको ट्रयाक ओपन कार्य सम्पन्नहुने क्रममा रहेको ।
- बैधानिक रुपमा ढुङ्गा तथा नदिजन्य पदार्थ निस्काशनका लागि IEE सम्पन्न भएको ।
- यसै आ.ब. मा सम्पन्न गर्ने गरी दुर्इ वटा झोलुङ्गे पुल निर्माण कार्य अगाडी बढाइएको ।
- आधारभुत स्वास्थ्य सेवा प्रवाहका लागि स्वा.चौ. नभएका वडा तथा अति प्रभावित क्षेत्रमा पाँचवटा आधारभुत स्वास्थ्य केन्द्र स्थापना तथा दुर्इ वटा स्वा.चौ. (हाँसीपुर, लोहारपानी) मा ल्याब सेवा संचालनमा ल्याइएको ।
- विधुतिय सुसाशन तथा सेवा प्रवाहलार्इ छरितो तुल्याउन ४ वडा तथा गाउँपालिकामा इन्टरनेट सेवा संचालन प्रारम्भ गरिएको र निकट भविश्यमा टेलिसेन्टर र अन्य वडामा सेवा संचालन गर्ने कार्यक्रम रहेको ।
- नमूना विद्यालय र प्राविधिक शिक्षालयको डि.पि.आर गुरुयोजना निर्माण भर्इ यसै आ.ब. देखि प्राविधिक शिक्षालय स्विकृत भर्इ सुधा मा.वि. झेल्नेटामा संचालन भएको ।
- शिक्षाको पहुँचलार्इ प्रत्येक वालवालिका तहसम्म पुराउन शिक्षण क्रियाकलापमा प्रभावकारिता ल्याउन स्थानीय करार शिक्षक तथा वालविकास केन्द्रहरुको संचालन गरिएको ।
- प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा गाउँपालिका स्तरीय खेलकुद मैदान, बहु उदेश्य सभाहल, स्मार्ट एग्री भिलेज, शित भण्डार निर्माण कार्य अगाडी बढेको ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत सिपमुलक तालिम, असाहाय अनुदान तथा श्रममा आधारित योजनाहरु अगाडी बढेको।
- राजश्वको दायरालार्इ फराकिलो पार्न व्यवसाय कर झन्डै २५० व्यवसायीहरु करको दायरामा आउनुको साथै संचालनमा आएका सिमेन्ट उद्योगीहरुबाट १०% रोयल्टी यस कार्यालयमा जम्मा हुन आर्इ आन्तरिक आयमा उल्लेख्य वृद्धि भएको र प्रदुषण र वातावरणीय प्रभाव न्यूनिकरणका लागि सामाजिक उत्तरदायित्व पुरा गराउन खानी तथा खानीजन्य क्षेत्रका वासिन्दाहरुको वृहत्तर हितको लागि खानी संचालक तथा उद्योगीहरुलार्इ उत्तरदायी वनाउन दवावमुलक छलफल सहित धर्मकाँटा संचालनको अवधारणा छलफलमा ल्यार्इएको ।
- एम्वुलेन्स संचालनको लागि दुर्इ वटा एम्वुलेन्स खरिद प्रकिया अन्तिम चरणमा पुगेको ।
- नियमित सडक संचालन तथा रोजगार सृजनाको लागि सडक मर्मत सम्भार समूह संचालनमा ल्याइएको ।
- योजना संचालनलार्इ प्रभावकारी र उत्तरदायी बनाउन रु. २ लाख सम्मका योजना वडा सचिवले सम्झौता गर्ने गरी अधिकार प्रत्यायोजन गरेको र स्थलगत रुपमा योजना खाता संचालनमा ल्याइ उपभोक्ता समितिलार्इ तालिम दिइएको ।
- योजना अनुगमनको सूचक सहित अनुगमन, तत् पश्चात भुक्तानीको प्रक्रियालार्इ सघन रुपमा अगाडी बढाइएको ।
गाउँपालीकाले गर्नैपर्ने तर गर्न नसकिएका पक्षहरु
- खानेपानीका श्रोतहरु न्यून रहेको अवस्थामा लिफ्ट योजना, वर्षे पानी सङ्कलन महङ्गो हुँदा खानेपानी र सिचार्इमा अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको ।
- श्रम प्रतिको सम्मान र स्थनीय स्वरोजगार सृजना गर्न शिक्षा, कृषि क्षेत्रमा वैज्ञानिक र आधुनिक पद्धती अनुशुरण गर्न बाँकी रहेको ।
- जनशक्तिलार्इ आकर्षित गरी सबै वडामा प्रशासनिक र प्राविधिक कर्मचारीको उपलब्धता, समायोजनका कारण पुरा गर्न बाँकी ।
- नयाँ संघिय प्रणाली र यसमा ३ तहको सरकारको भुमिका, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि र आम जनताको काम, कर्तब्य र अधिकार वस्ती तहसम्म छलफलमा लैजान बाँकी ।
- सार्वजनिक सुनुवार्इ, प्रगती समिक्षा, नागरिक वडापत्र जस्ता सुशासन प्रबर्द्धन गर्ने संयन्त्रलार्इ समयमै र सघनरुपमा कार्यान्वयन बाँकी ।
गाउँपालिकाले कार्यान्वयनका चरणमा भोगिएका समस्याहरु
- कठीन भुगोल, न्यून जनशक्तीका वीच उल्लेख्य प्रगती हासील गर्न कार्यअनुभवको र गतीको कमी ।
- असिमित जनआकङ्क्षाका वीच योजनाको भारमा आधारित प्रथामीकरण हुन नसक्दा स-साना र छरिएका (५९७) योजनाको कारणले योजना कार्यान्वयन, अनुगमन, र अभिलेखाङ्कन गर्न कठिन।
- जन प्रतिनिधि, कर्मचारी र जनता सिकाइ चरणमा रहेकोले संघियता कार्यान्वयनको लागि आवश्यक क्षमताको कमि ।
- स्रोत र लागतविच तालमेल नहुदा अधुरा योजना रहने ।
- विकास निर्माण कार्यमा अर्थपूर्ण जनसहभागिता घट्दै जानु ।
- हाम्रो कर हाम्रै लागि भन्ने अवधारणा सुझाउन नसकिदा स्थानीय कर प्रतिको सकारात्मक धारणा कायम गर्न प्रचारात्मक कार्यक्रमको कमी ।