प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
प्रचण्ड–माधव पक्षले आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी गरेकाे छ ।
प्रतिनिधिसभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनस्र्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् ।
काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न नौं ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ ।
सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी रहने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।
विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।
चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।
सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।