नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव भूमिगत भएको दुई वर्षपछि सार्वजनिक हुनु भएको छ । उहाँ सरकारसँगको वार्ता सफल भएपछि सहमति सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौँ जानुभएको हो ।
आजा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय छ।विप्लव बिहीबार बेलुकी साढे ११ बजे देवचुली नगरपालिका–१२ गैडीस्थित सहिद फूलमाया सारु मगरको परिवारलाई भेट गर्नु भएको थियो । त्यहाँबाट उहाँ बिहान ५ बजे काठमाडौं प्रस्थान गरेको बताईएको छ । उहाँ संगै अर्का नेता बालानन्द कीर्ति र पार्टीका कार्यकर्ताहरू पनि रहेका छन् । चन्द प्रहरीको एस्कर्टिङमा काठमाडौं प्रस्थान गर्नु भएको हो ।
सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गरेका थिए । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ ।
यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।