काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको दावी गर्नु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालीको आत्मनिर्णयको अधिकारसहित राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताउनु भएको हो ।
उहाँले भन्नु भयो ,‘तपाईं हामी सबैको भाग्य, भविष्य, यो राष्ट्रकै भाग्य भविष्य, तपाईं हाम्रा सन्ततिहरुको भविष्य अहिले फेरि जोखिममा परेको छ, धरापमा पारिएको छ । नेपालीहरुको आत्मनिर्णयको अधिकार फेरि एकचोटी जोखिममा छ,’।
विगतमा नेपाली जनताले बाह्य हस्तक्षेपबाट नभई आफ्नाबारे आफैं निर्णय गरेर परिणाम पनि निकालेको दाहालले बताए । शान्ति सम्झौतामा हस्ताक्षर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान घोषणा नेपाली आफैंले गरेको निर्णयको परिणाम रहेको दाहालको भनाइ छ । तर, अहिले आदेशपालक बनाउन खोजिएजस्तो महसुस आफूलाई भएको उहाँको भनाइ छ ।
राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध नभए अझै खतरा हुनसक्ने दाहालको भनाई छ । उहाँले भन्नु भयो , ‘जसरी संसद् भंग भयो त्यो संसद्मात्रै भंग भएको थिएन । संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजिएको थियो, सार्वभौम नेपाली जनताको सार्वभौम अधिकारको अपहरण हो त्यो । सामान्य पहिला पहिला जस्तो मध्यावधि गर्ने भनेजस्तो हैन त्यो । अहिले सर्वोच्चले सच्चाएको छ । उहाँले अझै पनि खतराको कालो बादल मडारिइराखेको बताउनु भयो ।