काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको वुझिएको छ ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादीले सहयोग गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारी अनुसार दुई दलले तयारी तीव्र पारेको नेताहरुले बताएका छन् ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन केही दिनदेखि प्रयास भइरहेको नेताहरुले बताएका छन् । लुम्बिनी प्रदेश सभामा कूल सांसद संख्या ८७ रहेको छ ।
सरकार बनाउनका लागि बहुमत पुर्याउन ४३ मत आवश्यक पर्छ। त्यहाँ एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
माओवादीका दिनेश पन्थी र दधिराम न्यौपाने एमाले प्रवेश गरेपछि माओवादी पार्टीले कारबाही गर्दा उनीहरुको दुई सिट अहिले रिक्त रहेको छ। माओवादीका तर्फबाट पूर्णबहादुर घर्ती सभामुख
हुनुहुन्छ ।
यस आधारमा मुख्यमन्त्री पोखरेललाई हटाउनका लागि बहुमत पुर्याउन एमाले बाहेकका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सबै एकठाउँमा उभिनुपर्ने हुन्छ।
लुम्बिनी प्रदेशमा माओवादीको प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी भएको छ।