काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनु भएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जानकारी दिएको छ ।
झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उहाँको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उहाँलाई हटाउने तयारी थालेको हो ।
दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पार्नु भएको थियो । त्यतिबेलै हाँको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिनु भएको हो ।
यसैविच सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार (आज) प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले बताएको छ ।
२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१ बाट उहाँले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्माल्नु भएको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।
तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिनुभएको थियो ।